काठमाडौं । विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिन्छु भन्दै एक युवतीलाई ठगी गरेका अभियोगमा विजय पाण्डे पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई पाण्डेले डब्लुएचओ (विश्व स्वास्थ्य संगठनमा) जागिर लगाइदिन्छु भन्दै पटक पटक गरी लाखौँ ठगी गरेपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पाण्डेलाई बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डेले अधिकारीलाई विश्व स्वास्थ्य संगठनको कार्यालय लतिलपुरमा जागिर खुलेको छ भन्दै सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्सुरेन्स कम्पनिको कागजातहर समेत दिएका थिए । पाण्डेले गत वैशाख २९ गतेदेखि असार ७ गतेसम्म पटक पटक गरी १ लाख ८२ हजार रकम आइएमइ मार्फत पठाउन लगाएका थिए । उक्त पैसा लिएपछि भने उनी फरार भएका थिए ।
प्रहरी अनुसन्धानको क्रममा पाण्डेले अन्य व्यक्तिलाई समेत ठगी गरेको खुलेको छ । उनले धन बहादुर बिष्टले काठमाण्डौको शंखमुलमा सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाखको फर्निचर किन्छु भन्दै उल्टै विष्टबाट ५० हजार ठगी गरेको पाइएको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ५० हजार ठगी गरेको समेत खुलेको छ । त्यस्तै अछामकी रञ्जु बुढालाई एक वर्षसम्म काम लगाएर तलब समेत नदिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
त्यस्तै नवलपरासी बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, एकिन ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका ब्यक्तिहरुलाई समेत विश्व स्वास्थ्य संगठनमै जागिर लगाइदिने भन्दै ठगी गरेका थिए ।
ठगी अभियोगमा पक्राउ परेका पाण्डे नवलपरासी जिल्ला सुस्ता देउचुली नगरपालिका वडा नम्बर १५ प्रगतीनगरका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्