काठमाडौं । अदालतले दिएको पक्राउ पुर्जीको हदम्याद सकिन लाग्दा पनि पक्राउ गर्न नसकेपछि बलात्कारको आरोपमा फरार रहेका लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अब अदालतले हेर्ने भएको छ । पक्राउ नपरेपनि प्रहरीले बम्जनमाथिको अनुसन्धान प्रतिवेदन भने अदातलमा पेश गर्नुपर्ने हुन्छ ।
अबको ५ दिनभित्र पक्राउ गर्न नसकिए अदालतले प्रहरीको सोही प्रतिवेदनको आधारमा बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्न सक्छ । प्रहरीले बलात्कार आरोपमा उनी दोषी रहेको पाइएको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएका बम्जनको २१ असारमा अदालतले दिएको पुर्जीको सीमा सकिँदै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली र सम्बन्धित जिल्ला प्रहरीको टोलीले उनको सिन्धुपाल्चोकको आश्रम र सिन्धुलीको आश्रममा पटक–पटक छापा मार्दा पनि पक्राउ गर्न भने सकेको छैन ।
उनी फरार रहेको र पक्राउ पर्न नसकेको प्रतिवेदन सीआईबीले २१ असारभित्र नै अदालतलाई जानकारी दिन लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले बताए ।
पक्राउ गर्न असफल
२१ गतेअघि नै पक्राउ गरिसक्नुपर्ने डेटलाइन रहेका कारण पछिल्लो पटक ४ असारमा सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित बम्जनको आश्रम सिल गरेर सीआईबीको टोलीले करिब १० घट्ना अप्रेसन चलाएको थियो । तर, बम्जन पक्राउ पर्ने सकेनन् ।
यसअघि ४ माघमा पनि सीआईबीको टोलीले उक्त आश्रममा छापा मारेको थियो । उसो त यसअघि बम्जनको सिन्धुपाल्चोक आश्रममा पनि प्रहरीले छापा मारेको थियो । तर, उनले प्रहरीको पटकपटकको प्रयास पनि असफल पार्दै आएका छन् ।
सिन्धुपाल्चोक प्रहरीले उनको आश्रमबाट शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू फेला पारेको थियो । उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया तामाङको हत्या गरेको अभियोगसमेत छ । तर, उनलाई बलात्कारको अभियोगमा सर्लाही अदालतले पक्राउ गर्ने अनुमति दिएको थियो ।
सर्लाही अदालतले ३ महिनाअघि उनीविरुद्धको पक्राउ पुर्जी जारी गरेको हो । ४ असारमा बम्जन सिन्धुलीको आश्रममै रहेको सूचनाका आधारमा सीआईबीको टोली सिन्धुली पुगेको सीआईबीका एसपी पाण्डेको भनाइ छ ।
प्रहरीले उनको आश्रम सिल गरेर २ वटा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो । त्यस्तै, प्रहरीको विशेष कार्यदलबाट स्पेसल टास्क फोर्स (एसटीएफ) को टोलीसमेत गएको थियो । सिन्धुलीको ठूलो जंगलको बीचमा उनको आश्रम र बीचमा नदीसमेत भएका कारण उनी त्यही जंगलमा भागेको अनुमान प्रहरीको छ ।
उनको २ जना सहयोगीलाई समेत पक्राउको अनुमति माग्ने तयारी प्रहरीको छ ।
सीआईबीका अनुसार बम्जनको आश्रममा राति १ बजेदेखि दिउँसोको करिब ३ बजेसम्म सर्च अप्रेसन चलाएको थियो ।
आश्रम भत्काउन वन विभागलाई पत्राचार गरिदैँ
बम्जनले सिन्धुलीस्थित कमलामाई नगरपालिका– ८, पैरेनीस्थित वन अतिक्रमण गरेर बनाएका आश्रम भत्काउन वन विभागलाई पत्राचार गर्ने भएको छ
सीआईबीका प्रवक्ता एसपी पाण्डेका अनुसार बम्जनले निर्माण गरेका सबै संरचना अवैध तरिकाले निर्माण गरेका छन् । उनको कमलामई आश्रमको करिब २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर बसेका हुन् ।
‘धर्मको नाममा जंगल मासेर संरचना बनाइएको छ । संरचना पूरै गैरकानुनी तरिकाले निर्माण भएका छन् । त्यसलाई वन विभागले हटाउनैपर्छ,’ पाण्डेले भने । उनको सिन्धुपाल्चोक, सर्लाही र नुवाकोटका आश्रम पनि अवैध तरिकाले नै निर्माण भएको प्रहरीले जनाएको छ ।
सिन्धुलीको आश्रमबाहेक अन्य आश्रममा उनले आपराधिक गतिविधि सञ्चालन गरेको प्रहरीको निष्कर्ष छ । सिन्धुलीको आश्रमभित्र बम्जनले आफ्ना लागि छुट्टै दरबार नै निर्माण गरेका छन् । त्यसका अलावा आश्रमभित्र उनको स्वीमिङ पुल, जिमखानासमेत छ ।
आश्रमभित्र नेपालीबाहेक केही विदेशी नागरिक पनि रहेको प्रहरीको भनाइ छ । त्यस्तै, बम्जनले प्रयोग गर्ने २ महँगा कारसमेत आश्रमभित्रै छन् । आश्रमका चारै नाकामा उनले सुरक्षा चेकपोस्ट राखेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्