काठमाण्डौं । नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो ।
भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आएको तर ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।
नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । सलह किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।
किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्ने उहाँको आग्रह छ ।
त्यस्तै कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिको बारेमा यकिन गर्न बाँकी रहेको बताए ।
उनका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।
सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको झुण्डमा रहेको छ ।
बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो ।
सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानको उपाय खोज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्