काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संयुक्त रुपमा संघर्ष गर्ने घोषणा गरेका छन् । सोमबार संयुक्त विज्ञप्ती जारि गर्दै राष्ट्रघाती सम्झौता पारित गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली अग्रसर भएको भन्दै बिरोध स्वरुप संघर्ष गरिने उल्लेख गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको पुर्ण समर्थनमा राष्ट्रघाती सम्झौता गर्न लागिएको भन्दै त्यसको संयुक्त रुपमा विरोधमा उत्रिने बताइएको छ । उक्त समितिले संघर्षको कार्यक्रमहरु समेत घोषणा गरेको छ । जसअनुसार सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’ मागलाई सूत्रीय बनाउने ११ दलले निर्णय गरेको छ ।
आगामी १० गते हुन लागेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा एम्सीसीबारे नै छलफल हुने भएकाले विकसित परिस्थितिमाथि ध्यान दिँदै आगामी असार ११ गते संयुक्त बैठक बसेर संघर्षको आगामी योजना तय गरिने पनि ११ दलले निर्णय गरेको छ ।
उक्त निर्णयमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी) को महासचिव मोहन वैद्य किरण, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदी, ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँती, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, राष्ट्रिय जनजागरण परिषदका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त) का महासचिव केदारचन्द्र शर्मा र राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनीले हस्ताक्षर गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्