काठमाडौं । निर्वाचन आयोगले २१ वटा स्पष्टीकरण सोधेको छ । आयाेगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लङ्घनका विषयमा भएका कामकारबाहीबारे जानकारी दिएकाे हाे ।
प्रतिनिधि सभा चुनावका लागि माघ ५ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू गरेको गरेको थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग स्पष्टीकरण सोधिएको बताए ।
आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएकोमा पाँच वटा जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको प्रवक्ता भट्टराईले बताए । निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको भट्टराईले बताए ।
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरिएको छ । जसअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको उनले बताए ।
इकाईले पत्ता लगाएका कुल ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२ विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रवक्ता भट्टराईले बताए ।
आगामी फागुन २१ गते निर्वाचन हुँदैछ ।






























आफ्नो प्रतिकृया दिनुहोस्