काठमाडौं । घट्दो क्रममा रहेको तापक्रम आज थप घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ। यस्तै काठमाडौँ उपत्यकामा पनि तापक्रम क्रमशः घटिरहेको छ।
आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको छ । यो तापक्रम यो वर्षकै कम हो।
पुस ८ गते काठमाडौँको तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो। पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो।
पुस १७ गते तापक्रम घटेर ४.६ डिग्रीमा आएकामा आज भने ४.५ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।
विभागमा आज राति अभिलेख गरिएको तापक्रमको विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री तापक्रम रहेको छ। त्यस क्षेत्रमा खोलासमेत जमिरहेका छन्।
अन्य जिलामा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको विभागले जनाएको छ। सूचना अधिकारी कायस्थका अनुसार न्यूनतम तापक्रम डडेलधुरामा २.७ , दिपायलमा छ, वीरेन्द्रनगरमा ५, घोराहीमा ८, पोखरामा ८.५, सिमरामा ८.३, ओखलढुङ्गामा ४.९, जिरीमा ०.२, ताप्लेजुङमा ५.८‚ लुम्लेमा ४.५ र धनकुटामा ७ डिग्री रहेको छ।
कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने बताए। उनका अनुसार हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ।
विभागले आज राति सार्वजनिक गरेको मौसम बुलेटिनमा देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा तथा तराईका अधिकांश ठाउँमा हुस्सुकुहिरो लागेको जनाइएको छ। देशभर पश्चिमी वायुको प्रभाव रहेको छ।
विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै तराई भूभागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेको छ।
त्यसकारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्