काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमलाई आधिकारिक स्रोतमा आधारित समाचार दिन आग्रह गरेका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा उनले निर्वाचनका क्रममा भ्रामक समाचार फैलाउनबाट जोगिन सुझाव दिए। भण्डारीले नागरिकलाई सत्यतथ्य समाचारको आवश्यकता रहेको हुँदा सञ्चार माध्यमले आचारसंहिता पालनामा भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले सरकारी सञ्चार माध्यमहरू—नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस—ले विशेष जिम्मेवारी लिएर सत्य र आधिकारिक समाचार सम्प्रेषण गर्नुपर्ने बताए। सामाजिक सञ्जालमा एआई आधारित सामग्री प्रयोग हुँदा छवि वा सामग्रीमा आँच पुग्ने सम्भावना रहेकोले आयोगले मेटा र टिकटकलगायत प्लेटफर्मसँग सम्झौता गर्ने तयारी रहेको जानकारी पनि उनले दिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पनि निर्वाचन सफल बनाउन सञ्चार माध्यमले सही सूचना दिने महत्वपूर्ण भूमिका रहने र पत्रकारहरूले स्वतः आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारितामा निष्पक्षता कायम राख्दै पार्टी वा उम्मेदवारको प्रचार नगर्न आग्रह गरे।





























आफ्नो प्रतिकृया दिनुहोस्