रसुवा । एकातिर चीनसँगको ब्यापारका लागि अत्यन्त महत्वपूर्ण रहेको तातोपानी नाका दश वर्षअघिको भूकम्पको बेलादेखि नै पहिरोका कारण कहिले ठप्प त कहिले अनेक किसिमका झमेलाका कारण बन्द रहँदै आएको छ ।
तातोपानी नाकामा आइपरेको ब्यवधानका कारण सयौँ व्यापारीले ठूलो घाटा ब्यहोर्नुपरेको सर्वविदित नै छ । गत दशैँको समयमा पनि पहिरोले सडक बन्द हुन्दा नेपाली व्यवसायीका सयौँ कन्टेनर सामान चीनतर्फ रोकिएर निकै क्षति पुगेको थियो ।
यस्तो परिवेशमा यता रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा गत असार २४ गतेको भीषण बाढी-पहिरोले चीन र नेपालको सिमानामा रहेको पुल समेत बगाएपछि अर्को समस्या थपियो । सो पुल बगेपछि हालैमात्र बेलिब्रिज प्रकारको पुल चीन सरकारले निर्माण सम्पन्न गरेको छ । तर, चाइनाबाट आउने मालवस्तु हालसम्म चाइनामै रोकिएको अवस्था छ ।
यही १३ पुस आइतबारदेखि सो पुलबाट मानिस आवतजावत गर्न दिइने र पुस १७ (जनवरी १, २०२६) देखि मालबाहक ट्रकहरू पनि आवतजावत गर्न दिने भनिएको छ, जसले व्यवसायी वर्गलाई राहत महसूस गराएको बुझिन्छ ।
तर, रसुवा जिल्लाका केही व्यक्तिले बाहिरी जिल्लाका व्यवसायीहरूलाई कारोबारका लागि रसुवा भएर चीन जान नदिने भनी बखेडा निकालेका छन् । रसुवाका सीमित ब्यक्तिले ब्यक्तिगत लाभका लागि नाका नै कब्जा गर्न लागेपछि अन्य जिल्लाका व्यवसायीहरू तरङ्गित भएका छन् ।
सम्बन्धित व्यवसायको सामान चेकजाँच गर्नको लागि व्यवसायी व्यक्तिहरू नै चीन जानुपर्ने बाध्यता रहेको हुँदा ‘माफिया’ले झिेकेको बखेडा र विवादलाई समाधान गरी जुन जिल्लाको भएपनि नेपालभरिका चाइना साइट जान मिल्ने व्यवसायी व्यक्तिहरूलाई सहज रूपमा आफ्नो व्यवसाय वा आफ्नो लगानी बचाउको लागि जाने-आउने वातावरण मिलाइदिन उनीहरूले सरकारलाई गुहारेका छन् । जेन्जी आन्दोलनपछि गठित सरकारले आफ्नो गुनासो सुनेर समस्या समाधान गरिदिने अपेक्षा व्यवसायीहरूले गरेका छन् ।





























आफ्नो प्रतिकृया दिनुहोस्