काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । भोजपुरको अरुण गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुरको लुभुमा बस्दै आएका २१ वर्षीय पारुहाङ राई को शव सोमबार बिहान जंगलमा भेटिएको हो ।
शव फेला परेको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमावर्ती क्षेत्रभित्र पर्छ । ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले पारुहाङको हत्या गरेर शव जंगलमा फालिएको जस्तो देखिने बताएका छन् ।
प्रहरी अनुसन्धानका क्रममा पारुहाङ राईको हत्या र ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरेफाँटमा भएको केशवराज हायुको हत्याबीच अन्तरसम्बन्ध (कनेक्सन) देखिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थायी घर भएका २५ वर्षीय केशवराज हायु पुस २ गते शेरेफाँटस्थित एक कृषि फार्मको इनारभित्र बोरामा प्याक गरेर फालिएको अवस्थामा मृत भेटिएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार, हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का छ ।
पारुहाङको शवमा पनि टाउकोमा गम्भीर चोट देखिएको छ । जंगलमा भेटिएको उनको शव पोस्टमार्टमका लागि भक्तपुरको केएमसी अस्पताल मा राखिएको प्रहरीले जनाएको छ । दुवै जनाको हत्या एउटै समूहले गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
यस प्रकरणमा दुई जना पक्राउ परिसकेका छन् । पक्राउ पर्ने एकजना सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल हुन् । उनी मृतक केशवराज हायुका बहिनी ज्वाइँ रहेको खुलेको छ । अर्का एकजना आरोपीको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन । आरोपीमध्ये एकजनाको कोठाबाट हत्यामा प्रयोग भएको हम्मर, रगत लागेको कपडा लगायत सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हायु र पारुहाङ दुवै वैदेशिक रोजगारीमा जाने तयारीमा थिए र उनीहरू एउटै कृषि फार्ममा काम गर्दै आएका थिए । हालसम्मको अनुसन्धानले आर्थिक विवादका कारण हत्या भएको हुनसक्ने देखाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्