झापा । झापाको बिर्तामोडमा सञ्चालनमा रहेका दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ।
गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मार्दै दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गएराति करिब साढे १२ बजे प्रशासनले तोकेको समयको अवज्ञा गर्दै डान्स बार सञ्चालन भइरहेको अवस्थामा छापा मारिएको थियो। सो क्रममा डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका–२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्लाको गोलबजार नगरपालिका–१ का २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रशासनले तोकेको समयभन्दा ढिलोसम्म डान्स बार सञ्चालन भइरहेको भेटिएपछि बारका कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।



























आफ्नो प्रतिकृया दिनुहोस्