काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे उद्घाटन गर्ने छन् ।
मंसिर १९ गतेसम्म चल्ने महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी हुँदै छन् । नेतृत्व चयनका लागि आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुनेछ ।
पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर अध्यक्षका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्ष १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना छ ।
एमालेको हिजो (शुक्रबार) बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणको आधार तय गरिसकेको छ । बैठकले विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।





























आफ्नो प्रतिकृया दिनुहोस्