रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सञ्जय मुखियाका पाँच वर्षीय छोरा आकाश र चार वर्षीय छोरा विकासको विष सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले आफैँ विष सेवन गरेका हुन् अथवा कसैले खुवाएको हो भन्ने खुल्न बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले घटना शंकास्पद रहेको बताए । ‘चार/पाँच वर्षको बच्चाले आफैँ विष सेवन गर्दैन’, उनले भने, ‘ प्रहरीले अनुसन्धान गरिरहेको छ ।’
एसपी घिमिरेका अनुसार यो घटना २७ कात्तिकको हो । विष सेवनबाट मुर्छा परेका दुवै बालकलाई आफन्तले तत्कालै गरुडा अस्पताल लगेका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जको तराई अस्पताल लगियो ।
उक्त अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । मृतक बालकको शव परीक्षणको रिपोर्ट प्राप्त हुन बाँकी रहेको एसपी घिमिरेले बताए । दुवै बालकहरूलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । पीडित परिवारले गरेको शंकालाई आधार मानेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको एसपी घिमिरेले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्