नेपाल प्रहरीले गत साउन १४ गते प्रहरी प्रधान कार्यालयमा लिइएको युएन मिसन परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा गठित छानबिन समितिले तीन जना प्रहरीलाई बर्खास्त गर्न सिफारिस गरेको छ।
समितिले युएन शान्ति मिसन शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर राणा, प्रहरी उपरीक्षक रुपेश खड्कासहित ११ जनालाई विभागीय कारबाहीको लागी सिफारिस पनि गरेको छ।
परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछी सो प्रकरणको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले बुधबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो।प्रतिवेदनमा तीन जना प्रहरीलाई बर्खास्तसहित ११ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। साढे पाँच सयभन्दा लामो प्रतिवेदनमा युएन शाखाबाट ‘अक्षम्य गल्ती’ भएको औंल्याइएको छ।
बर्खास्तमा परेका प्रहरी कर्मचारीमा प्रहरी नायब निरीक्षक जनक थापा, प्रहरी हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम छन्।
थापा परीक्षा शाखामा कार्यरत् थिए। शाह केही महिनाअघि मात्रै युएन शाखाबाट साइबर ब्युरो सरूवा भएका थिए भने बम युएन शाखामा कार्यरत् थिए। शाह परीक्षार्थी पनि थिए। सुरूमा उनीकहाँ नै प्रश्नपत्र पुगेको थियो।
छानबिन प्रतिवेदन अनुसार साउन १२ गते राति कार्यालय सहयोगी बमले प्रहरी उपरीक्षक राणाको टेबुलबाट प्रश्नपत्र निकालेका थिए। जुन कुरा परीक्षा शाखाका सई थापा र प्रहरी नायब उपरीक्षक खड्कालाई थाहा थियो। डिएसपी खड्का परीक्षार्थी थिए। परीक्षा हुनुअगावै प्रश्नपत्र उनको हातमा पुगेको थियो। यो प्रश्नपत्र ११९ जना परीक्षार्थीकहाँ पुगेको पत्ता लागेको छ।
बमले अर्को चाबी छिराएर एसपी राणाको टेबलबाट प्रश्नपत्र निकालेको पाइएको छ। डिएसपी आफैंले सो प्रश्नपत्र प्रयोग गरेका कारण उनले माथिल्लो निकायमा खबर गरेनन्।
जब परीक्षा सुरू भयो, त्यसपछि अपराध अनुसन्धान विभागले थाहा पाएर रोकेको थियो। नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिएको थियो।
छानबिन प्रतिवेदनमा हालसम्म लिइएका युएनका सबै जाँच रद्द गरी नयाँ लिन सिफारिस गरेको छ।
कुँवरले परीक्षार्थीलाई युएन शाखामा काम गर्न रोक लगाउने, दुई वर्षभन्दा बढी समयसम्म युएन शाखामा कुनै पनि कर्मचारीलाई नराख्ने लगायत सिफारिस भएको बताएका छन् ।
नेपाल प्रहरीको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको युएनपरीक्षामा वरिष्ठ प्रहरी उपरीक्षकदेखि जवानसम्म पदका १२३ जना परीक्षार्थी सहभागी थिए।
आफ्नो प्रतिकृया दिनुहोस्