काठमाडौं, चैत्र १ । नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटी बैठक ठोस निर्णय विना नै सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा करिब ४ घण्टा बसेको बैठक कुनैपनि निर्णय नगरि भोली पुनः बस्नेगरि सकिएको हो ।
बैठकमा उपस्थित भएका विभिन्न प्रदेशका नेताहरुले आ–आफ्नो प्रदेशमा पार्टीको अवस्थाबारे जानकारी दिएका थिए । उनिहरुमध्य अधिकांशले तात्कालिन माओवादी केन्द्रका नेताहरु ओली पक्षमा लाग्दा पार्टीलाई ठुलो नोक्सानी भएको बताएका छन् । उनिहरुलाई पुनः पार्टीमा फर्काउन आवश्यक पहल गर्न पनि नेताहरुले सुझाएका छन् ।
शनिबार बसेको बैठकले एमालेमा लागेका माओवादी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो भने मन्त्रीसहित अन्य नेताहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन भनेको थियो । तर, २४ घण्टा बितिसकेको अवस्थामा एमालेमा रहेका माओवादी नेताहरुले लिखित रुपमा कुनैपनि जवाफ दिएका छैनन् । आजको बैठकबाट एमालेमा रहेका माओवादी नेताहरुलाई आफ्नो धार स्पष्ट पार्न निर्देशन गर्दै पत्राचार गर्ने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसला राजनीतिक भएको दाबी गरेका थिए । अनावश्यक ठाउँमा सर्वोच्चले हात हालेको कारण राजनीतिक परिस्थिति असामान्य बनेको प्रचण्डले बताए ।
सर्वोच्चको फैसलासँगै केपी ओलीको पक्षमा रहेका माओवादी नेताहरु फर्किन नचाहेपछि माओवादी केन्द्रलाई निर्णय गर्न असहज भएको हो । ओली पक्षमा लागेका नेताहरुले आफुहरु सांसद पद त्याग्न तयार रहेको तर पुनः प्रचण्डको नेतृत्वमा फर्कन नचाहेको अभिव्यक्ति दिँदै आएका छन् । बैठक भोली ११ बजे पुनः बस्ने छ ।
आफ्नो प्रतिकृया दिनुहोस्