झापा । भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर-७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो ढुंगाले हानेका थिए।
साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकामा ढुंगाले हानेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रीमानको ढुंगा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारेमा स्थानीयले मंगलबार बिहान करिब साढे आठ बजेतिर मात्र प्रहरीलाई खबर गरेका थिए।
घटनाबारेमा जानकारी प्राप्त हुनसाथ कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर श्रीमान साहेबा उराउलाई नियन्त्रणमा लिइएको एक प्रहरीले बताए।
प्रहरीका अनुसार श्रीमानको ढुंगा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो। पक्राउ परेका श्रीमानले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार मदिराको विषयमा श्रीमान र श्रीमतीबीच विवाद भएको थियो।
श्रीमान मदिराले मातेर लठ्ठ भएका थिए। बेसुरमा उनले श्रीमतीलाई ढुंगा हानेको हुनसक्ने प्रहरीले बताएको छ। स्थानीयका अनुसार घटनास्थलमा प्रहरी पुग्दा मृतक श्रीमतीको छेउमा बसेर रोइरहेका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्