काठमाडौं । साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।
ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंको अनुमतिपछि पक्राउ गरिएको हो ।
उक्त पेजको म्यासेन्जरबाट आम सर्वसाधारणसँग ब्युरोबाट प्रहरीले कुरा गरेको जस्तो भान पार्ने र आपराधिक लाभ समेत असुल गर्ने क्रियाकलाप भएको प्रहरीले जनाएको छ । पोखरेलमाथि थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्