बैतडी । दुई साताअघि स्कुलबाट फर्कने क्रममा बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्या अभियोगमा सबै प्रमाण जुटाएर एक जनालाई पक्राउ गरेको छ ।
एउटै स्कुलमा पढ्दै आएका १६ वर्षीय दिनेश भट्टले भागरथीको हत्या गरेको स्विकार गरेका छन्। उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने बुधवार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवकले अपराध स्वीकार गरेको र रिसइवीका कारण योजना नै बनाएर बलात्कारपछि भागरथीको हत्या गरेको अनुसन्धानमा खुलेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।
कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो । घटनास्थलको प्राबिधिक विवरण तथा अन्य प्रमाणले पनि भट्टको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
डिआईजी आफैँ फिल्डमा
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको हत्याबारे अनुसन्धान गर्न आफै फिल्डमा खटिएका थिए ।
झण्डै तीन वर्ष अघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा लापरवाहि भएको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला फेरि त्यस्तो घटना दोहोरिन नपाओस् भनी डिआईजी सुवेदी सतर्कता अपनाएर आफै फिल्डमा गएका थिए ।
घटनाको अनुसन्धानका लागि सिआईबीको टोलीले पनि सघाएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्