काठमाडौँ । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको शव परिवार र आफन्तले बुझेका हुन् । बलात्कारपछि हत्या गरिएकी भागरथीको शव यसअघि परिवार र आफन्तले बुझ्न अस्वीकार गरेका थिए ।
हत्या प्रकरणमा पक्राउ परेका आरोपितले बलात्कारपछि हत्या गरेको स्वीकार गरेपछि भागरथीका परिवार र आफन्तहरुले शव बुझेका हुन् ।
माघ २२ गते बलात्कारपश्चात हत्या गरिएको भेटिएको उनको शव परिक्षणका लागि अस्पताल लगिएको थियो । घटनाको सत्यतथ्य छानबिन नभएसम्म र दोषी पत्ता नलागेसम्म परिवार आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीको नेतृत्वमा मंगलबार घटनाको अभियुक्तलाई पक्राउ गरेको थियो । आरोपी पक्राउ भएपनि यथेस्ट प्रमाण नभएको र घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नता हुनसक्ने भन्दै भागरथीका परिवारले तत्काल शव बुझ्न मनाही गरेको थियो ।
आरोपित किशोरले पनि आफुले बलात्कार नभई हत्या मात्र गरेको बयान दिएका थिए । तर, बिहीबार सरकारी वकिलहरुले आरोपितको बाबु समेतलाई राखेर लिएको बयानमा भने आरोपित किशोरले बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका थिए ।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृतकका आफन्तहरूसँगको छलफलपछि उनीहरूले शव बुझेको बताए। भागरथीको आजै सेरा आर्यघाटमा दाहसंस्कार गर्ने आफन्तले बताएका छन्।
भागरथी भट्टको हत्या भएको १५ दिनपछि आफन्तहरुले शव बुझेका हुन् । भागरथीका दाई केशव भट्टले अस्पतालबाट शवयात्रा गरिने जानकारी पनि दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्