काठमाडौं । बैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिवादी पाल्पा बगनासकाली गाउँपालिका(७ बस्ने ५९ वर्षीया टिका कुमारी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको २०७७ मंसिर ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी थापालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालयजगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ४८ वर्षीया सुशिला श्रेष्ठलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ साउन १४ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शान्तिनगर काठमाडौंबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत चितवनको आदेश बमोजिम उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्