विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।
करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए ।
घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरले जनाएको छ ।
घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै प्रहरीले खोजी कार्य सुरु गरेको बताए ।
घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवकको खोजी गरेको छ । ‘सोमबार दिउँसो उनीहरु मोटरसाइकलमा घुमिरहेका थिए’ बालिकाका छिमेकीले भने ‘दुबैजना छिमेकी टोलका हुन् ।’
ढिलो सुचना आएकै कारण आरोपी भागेका प्रहरीको भनाइ छ । ‘गाँउलेले सुरुमा जानकारी गराएको भए घटनामा संलग्नहरु राति नै पक्राउ पर्थे,’ एक प्रहरी स्रोतले भने । बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरीले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्