झापा । नागरिकता किर्ते गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरीगंज गाउँपालिका-३ बस्ने ईलाका प्रशासन कार्यालय गौरिगंज झापाका कार्यालय प्रमुख ३७ वर्षीय धनन्जय कुमार शाह, सोही गाउँपालिका-६ बस्ने सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह नगरपालिका-७ बस्ने ५९ वर्षीय कृष्ण प्रसाद तिम्सिना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले गौरादह नगरपालिका-७ ठेगाना देखाई अमृत राई (नागरिकता नम्बर ०४-०६-७७-००५९१), दिपिका राई (नागरिकता नम्बर ०४-०६-७७-००५९२) र बिशाल राई (नागरिकता नम्बर ०४-०६-७७-००५९३) लाई नागरिकता बितरण गरेकोमा नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरिगंजमा नभएकोले उक्त नागरिकताहरु किर्ते गरेको हुन सक्ने भएकोले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको Software प्रयोग गरी नागरिकता वितरण गरे पश्चात उक्त बिवरण Edit गरी पुन बिभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न
आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरु उपर जिल्ला अदालत झापाबाट नागरिकता सम्बन्धी कसुर मुद्धामा ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




























आफ्नो प्रतिकृया दिनुहोस्