काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ ।

महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको हो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल
मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारवाही गरेको हो ।

यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ ।
यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्