काठमाडौं । देशका विभिन्न स्थानहरुबाट अवैध लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध १ हजार २ सय एम्पुल डाइजेपाम, १ हजार २ सय एम्पुल फेनारगन र १ हजार २ सय एम्पुल नुफिन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट कटहरिया नगरपालिका-१ घर भएका २२ वर्षीय गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी घर भएका २३ वर्षीय साहेबलाल यादब रहेका छन् ।
रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ३१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गोबिन्द र साहेबलालले सिट मुनी लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौंको भिमसेनगोला भत्केको पुलबाट नियन्त्रित लागूऔषध ४१ एम्पुल फेनारगन,४१ एम्पुल नुफिन र ४१ एम्पुल डाईजोपाम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी बर्दघाट घर भई काठमाडौं गौशला बस्ने २७ वर्षीय विवेक केसी र झापा घर भई काठमाडौं बत्तिसपुतली बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका-३ शिवालय टोलबाट नियन्त्रित लागूऔषध १ सय एमएलको ५३ बोतल डाइलेक्स डिसी, १ सय १० थान डाइलेक्स डिसीको बिर्को तथा बिर्कोमा लगाउने लक, १ सय ६० ट्याबलेट नाइट्रोसन, ८ थान मोबाइल र प्रदेश १-०२-०४१ प ९६४१ नम्बरको मोटरसाइकल सहित ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईनरुवा नगरपालिका-३ बस्ने ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुनी नगरपालिका-७ हातीमारा बस्ने २२ वर्षीय रुपेश माझी र सोही ठाउँ बस्ने २१ वर्षीय मनिष राई रहेका छन् ।
इनरुवा नगरपालिका-३ शिवालय टोलस्थित घरमा लागूऔषध कारोवार गर्दैछन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कुखुराको खोरको जमिनमा खाल्डो खनेर प्लाष्टिकको झोलामा पोका पारी पुरेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको धरान उपमाहानगरपालिका-१५ सदन रोडस्थित मुसरत मेडिकलहलबाट अनाधिकृत औषधी बेचबिखन गर्ने भोक्राहा नरसिंह गाउँपालिका-६ बस्ने २७ वर्षीय सौजात आलमलाई ७ हजार ट्याबलेट डाइसाइक्लोमाइन र ९ सय ८० ट्याबलेट ट्रामाडोल सहित आइतबार साँझ पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्