काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कम्युनिस्टहरुको एउटै पार्टी बनाउनुपर्ने बताएका छन्। बिहीवार विभिन्न समूहबाट नेकपा प्रवेश गरेका नेता(कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले कम्युनिस्टहरु एक हुन आग्रह गरे।
‘ढिलो छिटो अब कम्युनिस्टहरु छलफल, बहस एउटै पार्टीभित्र बसेर गर्न सक्छन्, सकिन्छ र सक्नुपर्छ,’ उनले भने।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र चन्द ‘विप्लव’लाई नेकपामा आउन पनि आग्रह गरे।
‘आज केही महत्वपूर्ण कमरेडहरु जोडिन आइपुग्नु भएको छ। कम्युनिस्ट आन्दोलनका इतिहासमा राम्रो अनुभव हासिँल गरेका कमरेडहरु।उहाँहरु ५/७ जना जोडिनु भयो, उहाँहरुको पछाडी एउटा जनमत नै छ’, उनले भने, ‘म यहीँ मञ्चबाट बाँकी रहेका कमरेडहरु किरणजीले नेतृत्व गरेको या बाबुराम जीले नेतृत्व गरेको या विप्लवहरु पनि मूलधारतिरै फर्किनुपर्नेतिर सबैले सोच्नु, देश, कम्युनिस्ट आन्दोलनको हितमा, सर्वहारा जनताको हितमा हुन्छ।’
उनले विवादहरुमा छलफल गरेर एउटा निर्णयमा पुग्न सकिने पनि बताए। उनले छलफलमा बस्न पनि अपील गरे।
आफ्नो प्रतिकृया दिनुहोस्