काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ। सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो।
नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए।
‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन। तर नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ,’ मन्त्री ज्ञवालीले भने।
चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ। लक डाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनको भनाइ छ।
कोरोना संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन पनि उनको अपिल छ।
काठमाडौं उपत्यकामा ६० प्रतिशतभन्दा बढी संक्रमित देखा पर्न थालेको भन्दै उनले उपत्यकामा बसोबास गर्दै आएकाहरू बढी सचेत हुनुपर्ने बताए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे।
दसैँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह छ। जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे।
काठमाडौंमा संक्रमणको दर तीव्र बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडि बढ्न उपत्यकका जनप्रतिनिधिसहित सबैलाई सुझाव दिए।
राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारीविरुद्धको लडाइमा पछाडि परेको उल्लेख गर्दै उनले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यास काठमाडौंमा लागू गर्न जरुरी रहेको उल्लेख गरे।
आफ्नो प्रतिकृया दिनुहोस्