रौतहट । जिल्लाको वृन्दावन नगरपालिका-४ हर्दियामा आफ्नै छोरीको साथिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वृन्दावन नगरपालिका-४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई १४ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका-४ स्थितबाट पक्राउ गरेको हो। मृतक बालिका गढिमाई नगरपालिका-१ समनपुर टोलकी हुन् भने सानै उमेरदेखि बृन्दावन नगरपालिका-४ स्थित बाजेको घरमा बस्दै आएकी थिईन् ।
असोज १६ गते शुक्रबार बिहान नौं बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन्।
सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो। उनलाई स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेका थिए। पछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
अनुसन्धानमा चुनु साह तेलीले बालिकालाई ललाइफकाई प्रलोभनमा पारेर बलात्कार गरेको देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
प्रसाईँका अनुसार बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए।
प्रारम्भिक अनुसन्धानमा मृतक बालिका तेलीकी छोरीको मिल्ने साथी रहेको प्रहरी उपरीक्षक प्रसाईले बताए। बालिका तेलीको घरमा पहिलेदेखिनै आउने जाने गर्ने गर्थिन्। तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारिसकेका छन्।
उनीमाथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्