हैदरावाद । दक्षिण भारतमा एक्कासी परेको मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा ३० व्यक्तिको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार जानकारी गराएका छन् ।
भारतका ठूला प्रविधि कम्पनीहरूको केन्द्र सहर हैदरावादमा वर्षाका कारण बाढी तथा डुबान भई एउटा पर्खाल भत्किँदा कम्तीमा नौ जना र १० जना अन्य व्यक्तिको करेन्ट लागेर मृत्यु भएको स्थानीय अधिकारीले बताए ।
भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बुधबार सार्वजनिक दृष्यहरूमा बाढीले कार तथा हल्का खालका सवारी साधन बाढीले बढेका नदीहरूमा बगिरहेको तथा सडक छेउमा तैरिएर बसेको देखाइएको छ ।
बाढीमा बगेका तथा डुबेका विश्वास गरिएका आठमध्ये दुई मृत भेटिएका र छ अझै बेपत्ता रहेको टाइम्स अफ इन्डियाले समाचारमा उल्लेख गरेको छ ।
बाढी तथा डुबानमा परी अलपत्र परेका व्यक्तिहरूको खोजीका लागि राष्ट्रिय विपद् व्यवस्थापन बल तथा प्रहरी र सेना विभिन्न स्थानहरूमा तैनाद गरिएको छ ।
बङ्गालको खाडीमा एक्कासी आएका तरङ्गहरूका कारण अनपेक्षित घटना हुन पुगेको मौसमविद्हरूले बताएका छन् ।
वर्षाका कारण सबैभन्दा बढी तेलङ्गना राज्य प्रभावित भएको छ भने मुसलधारे पानीको असर आन्ध्रप्रदेश र कर्नाटकमा समेत परेको छ । भारतमा बाढी तथा डुबानमा परी वर्षेनी सयौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।
विज्ञहरूले वर्षाका कारण हुने मृत्युलाई कमजोर संरचना र मौसमसम्बन्धी कार्यालयले समयमै सावधानी नगराउँदा अकालमा नागरिकको ज्यान जाने गरेको दाबी गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्