काठमाडौं । मंगलबार बिहान साढे ५ बजे बल्खु खोलाको पुलमुनि टाउकोबाट गिदी निस्किएको अवस्थामा एक जना पुरुषको शव भेटिएको खबर आए लगत्तै लितपुरका एसएसपी टेकप्रसाद राई सहितको टोली घटनास्थलमा पुग्यो ।
छेउछाउमा रहेको पसलका सञ्चालकसँग प्रहरीले सोधपुछ पछि प्रहरी अधिकृतहरुले उनलाई कुनै गाडीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरे । प्रारम्भिक अनुसन्धान पछि उक्त घटनामा ज्यान गुमाएका व्यक्ति नुवाकोटका २० वर्षीय टोपबहादुर तामाङ हुन् ।
प्रहरीका अनुसार नजिकै रहेको एक कटेरोका सञ्चालकले मध्यराति एउटा १२ चक्के ट्रक घटनास्थल नजिकै रोकिराखेको देखेको सुनाए । उनले राति अबेरसम्म सवारीसाधनका मजदुरलाई खाना खुवाउने गरेका थिए, उक्त ट्रकका चालक पनि आफ्नै पसलमा खाएर निस्किएका थिए । त्यही आधारमा प्रहरीले ट्रकको खोजी थाल्यो । त्यसक्रममा बल्खुबाट उत्तरतिर लागेका अनुसन्धान अधिकृतले काठमाडौंमा पर्ने एक गोदाममा रोकिराखेको अवस्थामा शंकास्पद ट्रक फेला पारेको हो ।
सोधपुछ गरेर गाडी हेर्ने क्रममा एउटा चक्कामा रगत समेत देखियो । लगत्तै प्रहरीले लु २ ख २८६ नम्बरको ट्रक र चालक शेरबहादुर बिकलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जानकारी दिए ।
बिकले कसूर समेत स्वीकारेको र प्रारिम्भक अनुसन्धानमा उनले मादक पदार्थ समेत सेवन गरेर गाडी कुदाएको हुनसक्ने प्रहरीले आसंका गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्