काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले अपहरण तथा ज्यान मार्ने उद्योगमा १७ वर्ष सजाय भएका व्यक्ति काठमाडौंको होटलबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका-१२ का ३८ वर्षीय नरेश मेचे रहेका छन् ।
घटना भएको ६ वर्षपछि सिआईवीको टोलीले उनलाई नयाँ बसपार्कस्थित होटल इनुबाट आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उनले झापाका बजरंग पन्सारी (अग्रवाल)सँग मिलेर सुनिल कुमार अग्रवाल(विन्दल)लाई हतियार देखाइ बन्धक बनाएका थिए।
उनीहरूले पन्सारीलाई एम्बुलेन्समा हालेर धरमपुर-२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेका थिए।
प्रहरी उपरीक्षक चतुर्वेदीका अनुसार माघ २३ गते बन्धक भएका पन्सारीको उद्दार गरेका थिए। सोही बेलामा अपहरणकारी र प्रहरीबीच गोली समेत हानाहान भएको थियो। अपहरणकारीको गोली लागेर एक जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूमाथि सांगठित रूपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको थियो।
झापा जिल्ला अदालतले नरेश मेचेलाई १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्