एजेन्सी। फिनल्यान्डमा १६ वर्षीया एक किशोरीलाई एक दिनका लागि देशकै प्रमुख पद अर्थात प्रधानमन्त्रीको कार्यभार सम्हाल्न दिइएको छ । लैङ्गिक समानताको प्रचार गर्ने संयुक्त राष्ट्र संघको अभियान अन्तर्गत फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनले यस्तो गरेकी हुन् ।
लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड सधैँ अगाडि नै आउने गरे पनि प्रधानमन्त्री मरिनले लिङ्ग विभेदविरुद्धको लडाईँलाई अर्को स्तरमा पुर्याउँदै एक दिनका लागि १६ वर्षीया आभा मुर्तोलाई आफ्नो पद हस्तान्तरण गरेकी हुन् ।
तर उनले आफ्नो एक दिनको कार्यभारमा कुनै नयाँ नियम बनाउने छैनन् र केबल प्राविधिक क्षेत्रमा महिला अधिकार सम्बन्धी छलफल गर्न दिनैभरि वरिष्ठ राजनीतिज्ञहरुसँग बैठक बस्नेछिन् ।
संयुक्त राष्ट्रले प्रत्येक वर्ष ११ अक्टोबरका दिन ‘डे अफ द गर्ल’ आयोजना गर्दै आएको छ । र फिनल्यान्डले चिल्डरेन्स राइट्स च्यारिटी प्लान इन्टरनेस्नलको ग्लोबल ‘गल्र्स टेकओभर’ अन्तर्गत यो वर्ष चौथोपटक यस कार्यक्रममा सहभागीता जनाएको छ ।
इन्टरनेस्नल डे अफ गर्लका दिन विश्वव्यापी रुपमा गल्र्स टेकओभर अभियान सञ्चालन गरिन्छ जसको उद्देश्य कट्टरपन्थी सामाजिक र राजनीतिक परिवर्तनका लागि महिलाहरुलाई पछि पार्ने भेदभावपूर्ण मनस्थितिविरुद्ध कदम उठाउन पहल गर्नु हो ।
यो अभियान अन्र्तगत एल स्याल्भडोर, गुवाटेमाला, नेदरल्यान्ड र फिलिपिन्समा पनि किशोरीहरुलाई माइक्रोसफ्ट, सामसुङ, फेसबुक, ट्वीटर जस्तो प्राविधिक कम्पनीमा एक दिनका लागि शिर्ष पद ग्रहण गराइनेछ । तर राष्ट्रप्रमुख जस्तो देशकै उच्च पद प्राप्त गर्ने आभा एक मात्र किशोरी हुन् । यसरी एक दिनका लागि राष्ट्रप्रमुखको कार्यभार सम्हालेकी आभाले संचारकर्मीहरुसँग आफूले अत्यन्तै उत्साहजनक दिन बिताएको बताएकी हुन् ।
यो दुर्लभ अनुभवबाट आफूले धेरै नयाँ कुराहरु सिकेको पनि उनी बताउँछिन् । वातावरण र मानव अधिकार सम्बन्धी सक्रिय रुपमा विभिन्न अभियान चलाउँदै आएकी आभाले सबै क्षेत्रका मन्त्री अनि सांसदका सदस्यसँग पनि छलफल गरेकी हुन् । उनी भन्छिन्, “मेरो विचारमा हामी जस्ता युवाहरुले ठुला मान्छेलाई कसरी इनोभेटिभ हुने र भविष्यका बारेमा बढी सोच्ने भनेर सिकाउन सक्छौँ । ”
लिङ्ग भेद सम्बन्धी विषयमा फिनल्यान्ड विश्वकै सबैभन्दा समान मुलुक मानिए पनि त्यहाँ अझै प्रविधिसँग सम्बन्धित विषयमा महिलाहरुको सहभागीता र प्रतिनिधित्व एकदमै कम रहेको पाइन्छ । जस्तै केटीहरुले भिडियो गेम खेल्नुलाई अनौठो मानिन्छ भने कक्षामा पढाइरहँदा प्रविधि सम्बन्धी कुनै समस्या भएमा शिक्षकले पहिले केटालाई नै सोध्ने र मद्दत माँग्ने गर्दछन् ।
यसरी परम्परागत रुपमा प्रायः सबैजनामा केटीहरु प्रविधिमा चासो राख्दैनन् र पुरुष जति दक्ष हुँदैनन् भन्ने मानसिकता रहँदै आएको छ । तर अहिलेको युगमा महिलाहरुलाई पीडितका रुपमा मात्र नहेरेर धेरै क्षेत्रको सम्भाव्यता बोकेका प्रतिनिधिका रुपमा लिइनुपर्ने अनि मात्र समानता हासिल गर्न सकिने र समाज परिवर्तनको दिशामा अघि बढ्ने आभा बताउँछिन् ।
यसअघि फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन ३४ वर्षको उमेरमा विश्वकै सबैभन्दा कान्छि प्रधानमन्त्रीका रुपमा चर्चित भएकी थिइन् । बीबीसी
आफ्नो प्रतिकृया दिनुहोस्