नेपालगञ्ज । बाँकेमा बिहीबार दुई जनाको मृत्यु भएको छ। मृतकमध्ये सुर्खेतकी महिला र बाँकेका पुरूष छन्।
सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं.५ निवासी ७५ बर्षीया महिला र बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं.४ निवासी ५२ वर्षीय पुरूषको मृत्यु भएको छ।
सुर्खेतकी महिलाको बिहीबार राति १ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बाँके जिल्लाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
असोज ६ गते अस्पतालमा भर्ना भएकी उनलाई असोज ८ गते कोरोना संक्रमन पुष्टि भएको थियो। दुबै फोक्सोमा निमोनिया भएका कारण ती महिलाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।
उनको लडेर हड्डी भाँचिएको थियो भने पित्तथैली र मिर्गौलाको बिरामी समेत थिइन्।
त्यस्तै, नेपालगञ्ज निवासी ५२ वर्षीय पुरूषको बिहीबार बिहान ५:२० बजे भेरी अस्पाल नेपालगञ्जमा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।
उनको पनि दुबै तर्फको फोक्सोमा निमोनिया भएर मृत्यु भएको जानकारी दिइएको छ।
ती पुरूषलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन नै उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नेपालगञ्जको आइसोलेनस वार्डमा भर्ना गरेर उपचार थालिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ। जसमध्ये १७ जना बाँके जिल्लाका र अन्य ८ जना बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका रहेको जिल्ला फोकल पर्सन श्रेष्ठले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्