काठमाडौं । कोरोना संक्रमणबाट धादिङबेंसीका एक युवकको सोमबार मृत्यु भएको छ ।
काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा सोमबार बिहान नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको मृत्यु भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालले जानकारी दिए ।
ज्वरो, खोकीका साथै निमोनिया भएपछि उपचारका लागि उनी असोज १८ गते सुमेरु अस्पतालमा भर्ना भएका थिए ।
कोरोना परीक्षणका लागि नगरपालिकामा स्वाब दिएर उनी थप उपचारका लागि काठमाडौं गएको उनले बताए ।
अस्पतालमा भर्ना भएपछि गरिएको कोरोना परीक्षणमा असोज १९ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ६२७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ । अहिले २२८ जना सक्रिय संक्रमित रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्