काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले विरगति प्राप्त गर्नेहरुका सन्तानलाई प्रोत्साहन गर्ने उदेश्यले छात्रवृत्ती प्रदान गर्ने सम्झौता गरेका छन् ।
खरेलले कर्तब्य पालनाका सिलसिलामा विरगति प्राप्त गर्ने प्रहरी जवान, प्रहरी हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकका सन्तान मध्ये एक छोरी र एक छोरालाई जनही ३० हजार को छात्रवृत्ती सहित सम्मानपत्र प्रदान गर्ने भएको छ। पूर्व आईजीपी खरेलले प्रहरी संगठनसमक्ष गरेको सम्झौतामा अनुसार ११ लाखको अक्षयकोष स्थापना गर्ने उल्लेख छ ।
नेपाल प्रहरी संगठनले आफ्नो जन्मदिवसको कार्यक्रम मनाइँ रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले प्रहरी संगठनसमक्ष अक्षयकोष स्थापना गर्ने सम्झौता गरको हो ।
अच्युत–मिना अमर प्रहरी पुरस्कार नाम दिइएको उक्त कोषका लागि पूर्व महानिरीक्षक खरेलले प्रतिवर्ष छात्रवृत्ती अन्तर्गत ६० हजार र सम्मानपत्र तयार गर्न ४ हजार गरी ६४ हजार उपलब्ध गराउने सहमती भएको छ । साथै, उनको देहवसानपछि अच्युत–मिनाका सन्तान डा.आयुष र डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने पनि सहमती पत्रमा सम्झौता भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
पूर्व प्रहरी महानिरीक्षक खरेल नेपाल प्रहरी संगठनसँग व्यक्तिगत सम्झौता गरी छात्रवृत्ती कोषको स्थापना गर्ने पहिलो व्यक्ति हुन् । यसअघि पनि नेपाल प्रहरीका चारै क्षेत्रीय स्कुलमा विभिन्न कालखण्ड र विभिन्न पदमा रहँदा पूर्व प्रहरी महानिरीक्षक खरेलले संगठनका जवान, हवलदारका गरिव तथा जेहन्दार सन्तानलाई अक्षयकोष उपलब्ध गराएका थिए ।
त्यसैगरी, २०५७ सालमा अवकाश पाएका खरेलले तत्काल प्राप्त मासिक पेन्सन ८ हजार ५ सय ११ समेत संगठनका सिपाही, हवलदारका गरिव एवम् जेहन्दार सन्तानलाई प्रत्येक महिना छात्रवृत्तीका स्वरुप प्रदान गर्ने भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्