जनकपुरधाम । नेपालले नै किनेको रेल जनकपुरमा गुडेको छ। कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि रेल जनकपुरधाम आइपुगेको हो।
६ वर्षभन्दा बढी समयपछि जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। बन्द रहेको नेपालको एकमात्र रेल सेवा पुनः संचालनका लागि दुई सेट रेल ल्याइएको हो।
यसरी ल्याइएका रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा रेलको बाहिरी आवरण तयार भएको छ।
विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै फिचर्स छन्।
विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।
रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।
भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्म चल्ने यस किसिमका रेलहरू रहेको मिश्रले बताए।
‘मोटामोटी मेट्रो ट्रेनको फिचर्स छ भन्न मिल्छ, मेट्रो र भारतमा चल्ने साधारण लोकोमोटिभ रेलको मिक्स फिचर्स छ,’ मिश्रले भने।
यसमा एसीयुक्त आरामदायी सिटहरू छन्। रेलमा दुई वटा इन्जिन छन्। अगाडिको इन्जिन मुख्य हुन्छ। अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ।
रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो। तर, जनकपुर–जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ।
भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको मिश्रले जानकारी दिए।
रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा चर्चित मानिन्छ। यो रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ।
आफ्नो प्रतिकृया दिनुहोस्