हेटौंडा । बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।
प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् ।
नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो ।
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए ।
कार्ययोजनाको व्यवस्था अनुसार तीन चरणमा गरी स्थानीय तहको केन्द्रमा रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ ।
प्रथम चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा, दोस्रो चरणमा ७० वटा गाउँपालीहरु र तेस्रो चरणमा ८ सय ७४ वटा वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटिका राखिने उनले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्