काठमाडौं । सरकारले एसिड आक्रमणको कसुरमा दोब्बरभन्दा बढी कैद सजाय बढाएर नयाँ अध्यादेश सिफारिस गरेको छ । हाल कम्तीमा तीनदेखि आठ वर्षको सजाय बढाएर २० वर्षसम्म पु¥याइएको छ ।
एसिड आक्रमणबाट कसैको मृत्यु भएमा ज्यान मारे सरहको सजाय हुनेछ । आक्रमणबाट अनुहार तथा शरीरका कुनै पनि भागमा पूर्ण क्षति भएमा २० वर्षसम्म कैद र १० लाख रुपियाँ जरिवाना हुनेछ । कसुरदारले कैद कट्टा र प्यारोल अधिकृतले दिने कुनै पनि छुटको सुविधा पाउनेछैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पीडितसँग गरेका छलफल अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेश तयार पारेको हो । एसिड आक्रमणकारीलाई कसुरमा हुने सजायसहित पाँचवटा मौजुदा ऐन संशोधन गर्न एउटा अध्यादेश सिफारिस भएको छ । अर्को अध्यादेश उत्पादन, बजारीकरण, बिक्री वितरण नियमन गर्न सिफारिस भएको छ ।
सङ्घीय संसद्को अधिवेशन चालू नरहेकाले सरकारले अध्यादेश सिफारिस गरेको हो । अध्यादेश अनुसार एसिड आक्रमणबाट कसैको शरीरको कुनै भागमा क्षति पुगेमा कसुर हुनेछ । आँखा, कान, नाक वा अनुहारको कुनै पनि भागमा जलेको अवस्थामा पनि कसुरदारलाई २० वर्षसम्म कैद हुनेछ । अनुहार पूर्ण रूपमा जलेर क्षति भएमा, महिलाको हकमा यौनाङ्ग, स्तन जलेमा कसुरदारलाई २० वर्षसम्म नै कैद हुनेछ । साथै १० लाख रुपियाँ जरिवाना हुनेछ ।
कसुरदारले दुवै दायित्व बहन गर्नुपर्नेछ । यस्तै कसुर गर्दा एउटा आँखा, कान वा अनुहारमा आंशिक क्षति पुगेमा, हात, गोडा वा टाउकोमा क्षति पुगेमा तथा त्यस्ता अङ्ग काम नलाग्ने भएमा कसुरदारलाई २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने अध्यादेशमा व्यवस्था गरिएको छ । शरीरको कुनै पनि भागमा क्षति पुगेमा वा अङ्गभङ्ग भएमा भने कसुरको मात्रा हेरेर पाँचदेखि १० वर्षसम्म कैद र एकदेखि पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ ।
एसिड आक्रमणको परिणामबाट पीडितको मृत्यु भएमा ज्यान मारे सरहको कसुरमा कारबाही हुनेछ । कसुरमा उद्योग गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र पाँच लाख रुपियाँसम्म जरिवानाको व्यवस्था अध्यादेशमा गरिएको छ । एसिड आक्रमणको कसुरदारले कुनै पनि कैद छुटको सुविधा पाउनेछैन । प्यारोल अधिकृतले दिने सुविधा पनि कसुरदारले पाउनेछैन ।
अन्य गम्भीर फौजदारी अपराध सरह नै तोकिएको पूरा समय कैद भुक्तान गर्नुपर्नेछ । अध्यादेशले फौजदारी कसुर सजाय निर्धारण ऐनको दफा २९(ग) पछि प्रतिबन्धात्मक वाक्यांश थप गरी सो व्यवस्था गरेको छ । कैद कट्टा नहुने व्यवस्थामा पनि एसिड आक्रमणलाई थप गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखोका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्