काठमाडौं । एसिड आक्रमणमा परेका ४ जनाले रोजगारी पाएका छन् । तीन जनाले कुमारी बैंक र अर्का एकले महान्यायाधिवक्ताको कार्यालयमा चालकका रूपमा रोजगारी पाएका हुन् ।
कुमारी बैंकले एसिडपीडित दुई युवतीलाई उपत्यका र एक जनालाई हेटौंडास्थित शाखामा ‘मार्केटिङ म्यानेजर’ का रूपमा आइतबार नियुक्त गरेको हो । रोजगारी पाउनेमा हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन् ।
यस्तै, श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई महान्यायाधिवक्ता अग्नि खरेलले असोज १ बाट पारिश्रमिक गणना हुने गरी करारमा चालक नियुक्त गरेका छन् ।
बैंकले तीनै जना युवतीलाई सुरुमा १ महिनाका लागि करारमा भर्ना गरेको छ ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने बैंकले जनाएको छ । हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ मा पसलमा बसिरहेको अवस्थामा भारत महाराजगन्जको अमरपूर्वन–६ का राज भनिने दिलीपराज केशरीले एसिड प्रहार गरेका थिए ।
२०७१ फागुन १० मा एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरलाई काठमाडौंको वसन्तपुरमा रामेछाप फुलासीका जीवन विकले एसिड छ्यापेका थिए । २०७६ जेठ २ मा कालोपुलमा काभ्रे फूलबारीकी जेनी खड्कामाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड आक्रमण गरेका थिए ।
विदुर नगरपालिका–१३ घर भई काठमाडौंको बालाजु बस्दै आएका २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले २०७६ फागुन २६ मा एसिड प्रहार गरेकी थिइन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
आफ्नो प्रतिकृया दिनुहोस्