चितवन । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा थप १ १ जना कोरोना सक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको १८ यही भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि २३ भदौदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि २५ भदौमा अस्पताल भर्ना भएका उनको २६ गते कोरोना संक्रमणपुष्टि भएको थियो ।
उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिए ।
हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चितवनका मात्र १७ जना रहेका छन् । रासस
आफ्नो प्रतिकृया दिनुहोस्