विराटनगर । १२ लाख रुपैयाँमा ‘डिल’ गरेर १७ वर्षीया किशोरीलाई बली दिन भारत लैजान खोजेको आशंमा सोमबार प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर-५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकैलाडी-१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ नगरपालिका-३ घर भएका सुनसरीको रामधुनी-५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।
एसपी खड्काका अनुसार सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको थियो । सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको हो ।
एसपी खड्काले भने ‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजान खोज्नेलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’ पैसाको प्रलोभन देखाएर विराटनगर ल्याइएकी किशोरीलाई भारत पुर्याउन खोजेको पाइएपछि घटनालाई गम्भीर रुपमा लिइएको एसपी खड्काले बताए।
किशोरीले बाटोमा लैजाने क्रममा फित्ता लगाएर आफ्नो उचाई पनि नाप्ने काम भएको बताइकी छन्। ‘पूजामा बस्न ५।२ फिट उचाई भएकी केटी चाहिन्छभन्दै उचाई नापेका थिए,’ उनले भनिन्, ‘रजस्वला भए/नभएको बारेमा पनि सोधिखोजी गरे।’ विवाह गरेर र महिनावारी भएका बेला पूजामा बस्न नहुनेभन्दै उनीहरुले रजस्वलाका बारेमा आफूसँग सोधिखोजी गरेको किशोरीले प्रहरीलाई बताएकी छन्।
उनले आफूलाई कालो कपडा लगाएर पूजामा बस्नुपर्नेभन्दै सिकाएको पनि बताएकी छन्। १२ लाख रुपैयाँमा ‘डिल’ भएको घटना सार्वजनिक भएपछि प्रहरीले बली दिन बालिकालाई लगिएको हुन सक्ने आशंका गरेको हो।
आफ्नो प्रतिकृया दिनुहोस्