बाँके । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबार देखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारवाही हुनेछ।
निषेधाज्ञा अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ।
त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन्।
आफ्नो प्रतिकृया दिनुहोस्