साहित्यकार काठमाडौं । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा.डा.विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ।
विसं २००३ साल पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको शनिबार आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो।
उनी क्यान्सर रोगबाट पीडित थिए। संस्कृत, नेपाली र अवधि भाषामा कलम चलाउने डा आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित थिए।
संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेका थिए।
‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि उनले प्रकाश पारेको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्