झापा । लगातार अविरल वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको बाँध भत्काएको छ। तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा परेको छ।
गाउँपालिकाको -१ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन्। सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो।
बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए। मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए।
बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको उनले बताए। नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो। बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ।
‘बाढीले कटान सुरु गरेपछि हामीले तत्काल रोक्ने प्रयास गर्यौं। तर, त्यो सम्भव भएन,’ अध्यक्ष साहले भने, ‘सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन्।
भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने देखिएको छ।’
‘अस्तीदेखि कन्काई नदीको बाँध फुटेको थियो,’ अध्यक्ष साहले भने, ‘त्यसलाई अस्थायी नियन्त्रण गरिएका थियो तर फेरि लगातार वर्षाका कारण फुटेको छ।’ वडा नं। २ को सिमलबारी नजिक कटान भएर अहिले बाढी पसेको उनले बताए।
माई खोलाको पानी प्रवेश गरेकाले वडा नम्वर १ र २ मा ठूलो जोखिम निम्त्याएको उनले बताए। यदि पानी रोकिएन भने अन्य वडामा पनि बाढी बस्ने सम्भावना रहेको उनले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्