काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त २८ औँ महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले पदभार ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित एक कार्यक्रमकाबीच गृहसचिव महेश्वर न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेलगत्तै प्रहरी प्रधान कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन।
दर्ज्यानी चिह्न लगाएपछि उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव न्यौपानेले बधाई तथा शुभकामना दिंदै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्याउने विश्चास व्यक्त गरेका थिए ।
सो क्रममा क्षेत्रीले आगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने वताएका थिए।
त्यसपछि आईजीपी क्षेत्री प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा।आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।
आईजीपी क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नका साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
आफ्नो प्रतिकृया दिनुहोस्