कैलाली । मङ्गलबार राति आएको बाढी कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् ।
डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं.३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ ।
ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए ।
वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पस्ने गरेको मेयर चौधरीले बताए ।
मोहनपुर, ढुसी र काँडा गाउँमा ५०–६० घरमा पानी पसेको जानकारी आफूलाई आएको डिएसपी विष्टले बताए ।
यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् ।
गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डुबानमा परेको जानकारी दिए ।
काँढा नदी, पथरैया नदी र घैला नालाको बाढी यी वस्तीहरुमा पस्ने गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्