काठमाडौं । विभिन्न व्यक्तिलाई पौने ८ करोडभन्दा बढी ठगी गर्ने मनिस अग्रवाल भनिने चन्दन जिन्दललाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौंले झापाको दमक नगरपालिका ७ कृष्णमन्दिर घर भएका २९ वर्षिय चन्दन जिन्दललाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनले झापा, बारा, पर्सा, सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी फरार रहेका थिए ।
भक्तपुरको मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा मिति साउन १ गते उनी पक्राउ परेका हुन् ।
चन्दन जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।
आफूलाई मनिस अग्रवाल भनेर चिनाउने उनले हालसम्म झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जना व्यक्तिलाई ७ करोड एकासी लाख बयालीस हजार रुपैयाँ ठगी गरेका थिए ।
उनी विरुद्ध ठगीको उजुरी आउने क्रम जारी रहेको बताइएको छ ।
पक्राउ परेका उनले बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
झापा तिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको बुझिएको छ । जिन्दललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्