एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रपति बोलसोनारोले टेलिभिनमार्फत आफुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् ।
सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना परिक्षण गराएका थिए । मंगलबार आएको रिपोर्ट अनुसार उनमा कोरोना पोजेटिभ देखिएपछि उनले आम जनतालाई यसबारे टेलिभिजनमार्फत जानकारी गराएका हुन् । आफुमा कोरोना पोजेटिभ देखिएपनि आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताएका छन् ।
‘कोरोनासंग डराउनु पर्दैन, मेरो अनुहार हेर्नुहोस् म एकदम ठिक छु’ पत्रकारहरुसँग बोल्दै राष्ट्रपति बोलसोनारोले भने,‘भगवानलाई धन्यवाद, मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद ।’ राष्ट्रपति बोलसोनारोले पटकपटक कोरोना बाट डराउन नहुने र यसलाई सामान्य रुपमा लिनुपर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । त्यसैले उनको आलोचना हुँदै आएको छ ।
कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र पनि उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरिरहेका छन् । ब्राजिलमा मंगलबार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्