काठमाडौं । झापाको टागनडुब्बा गाउँपालिका– ९ बस्ने नत्थु विश्वकर्माको हत्या आरोपित १४ वर्षपछि पक्राउ परेका छन्।
हत्यामा संलग्न भई फरार रहेका मेचीनगर नगरपालिका–५ बस्ने ४१ वर्षीय बौदल लामगाधे विक भन्ने पुण्यप्रसाद विश्वकर्मालाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
२०६३ चैत २४ गते दिउँसो पुण्यप्रसादले कामाटोली बजारबाट नत्थुको साइकल नसोधी ल्याएका थिए। साइकल लिन सोही दिन बेलुका टागनडुब्बा गाउँपालिका–३ स्थित पुण्यप्रसादको ससुराली गएका बेला नत्थुलाई पुण्यप्रसादले कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते विश्वकर्माको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो। कुटपिटपछि फरार रहेका पुण्यप्रसादको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका–८ स्थित इँटाभट्टा चोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।
पुण्यप्रसाद विकलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्