काठमाडौं । नेपाल प्रवेश गरेको सलहको संख्या करिब १५ लाख पुगेको छ । आइतबारसाँझ कपिलवस्तु जिल्लामा करिब ८/९ लाखको संख्यामा सलहको नयाँ झुन्ड देखा परेसँगै देशका विभिन्न जिल्लामा करिब १५ लाख सलह फैलिएको अनुमान छ ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीका अनुसार आइतबारसाँझदेखि कपिलवस्तुमा करिब ८/९ लाखको संख्यामा सलहको झुन्ड देखिएको थियो ।
तर, मौसम प्रतिकूलताका कारण ती झुन्ड रुखमै बसिरहेको, बालीनालीमा नगइसकेको उनले बताए । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह १२ जिल्लामा फैलिएको छ ।
सुवेदीका अनुसार कपिलवस्तमा सबैभन्दा ठूलो संख्यामा झुन्ड देखिए पनि त्यसले असर भने गरिसकेको छैन । त्यसबाहेक चितवन, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा पनि करिब ४०र५० हजारको संख्याको झुन्डमा सलह देखिएका छन् ।
“हिजो कपिलवस्तुमा देखिएको नयाँ झुन्डबाहेक अन्य सलहको झुन्ड तितरवितर भएर विभिन्न जिल्लातर्फ गएको छ । त्यसले नोक्सान गर्ने परिस्थिति बनेको छैन,” उनले भने ।
सुवेदीका अनुसार हालसम्म १२ जिल्लामा सलह पुगेको छ । कपिलवस्तु, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, कास्की, गुल्मी, पाल्पा, बाँके, बर्दिया, धनगडीका विभिन्न स्थानमा सलह पुगेको छ । तर, यी जिल्लामा ठूलो संख्यामा नभई सानो–सानो संख्यामा सलहको झुन्ड छ ।
आफ्नो प्रतिकृया दिनुहोस्