काभ्रे। सोमबार पनौतीमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएपछि उत्पन्न विवादका कारण गोली चल्दा एक प्रहरी हवल्दार सहित ५ जना घाइते भएका छन् ।
आक्रोशित भीड र प्रहरीबीच झडप भएको क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् । आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीले प्रहरी बिट पनि तोडफोड गरेका छन् र गोलीबाट प्रहरी घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।
रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि नभइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यास मात्र प्रहार गरेको हो ।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा जनिमाया गोले र उनकी छोरी स्मारिका गम्भीर घाइते भएका थिए ।
उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले बताए ।
त्यसपछि स्थानीयवासीले विरोध प्रदर्शन सुरू गरेका थिए । आन्दोलनकै बीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।
भीड नियन्त्रणका लागि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ भने आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले न्याय दिनुको सट्टा बल प्रयोग गरेर दमन गर्न खोजेको भन्दै आक्रोशीत स्थानीय प्रहरीमाथी नै जाइ लागेका छन् ।
रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।
आफ्नो प्रतिकृया दिनुहोस्