काठमाडौं । मोरङमा आफ्नै अपहरणको नाटक गरेर बुबासँग फिरौती माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढिगंगा गाउँपालिलका ३ बासबारीका २४ वर्षका मुकेशनारायण महतोले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको भन्दै ३० लाख रुपैयाँ फिरौती मागेका प्रहरीले जनाएको छ ।
प्रहरीले अपहरणको नाटक गर्ने मुकेशलाई पक्राउ गरेको छ भने उनका बुबाले बुझाएको फिरौती रकम २१ लाखमध्ये १९ लाख ५३ हजार बरामद गरेको छ ।
मोरङका प्रहरीका अनुसार मुकेशले गत २३ गते विहान ११ बजे बुबालाई फोन गरेर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख मागेको जानकारी गराएका थिए ।
सुरुमा अपहरणकारीले लाहानमा राखेको बताएका उनले त्यसपछि जनकपुर र कोशी ब्यारेजमा राखेको जानकारी गराएका थिए । फागुन २६ गते शिवनारायणले फिरौती रकमबापत २१ लाख रुपैया तिरेका थिए ।

त्यसै दिन प्रहरीले अपहरणको नाटक गर्ने मुकेशलाई बेलुका ५ बजे सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रहरीले फिरौतीको रकमसहित बुढिगंगा ३ का कृष्ण राजवंशीलाई पनि पक्राउ गरेको थियो ।
फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरेको र बाँकी बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुकेशले एक वर्षअगाडि सापटी लिएको ५ लाख रुपैयाँ मिटर ब्याजका कारण ९६ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की दिएकाले अपहरणको नाटक गरेर रकम उठाएको हो ।
घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्